इंग्ल्यान्डका उपकप्तान तथा अलराउन्ड बने स्टोक्सले पाकिस्तानविरुद्धका टेस्ट सिरिजका बाँकी दुई खेल गुमाउने भएका छन् । पारिवारिक कारणले न्युजिल्यान्ड जानु पर्ने भएकाले स्टोक्सले बाँकी दुई खेल गुमाउने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले जनाएको छ ।
‘स्टोक्स यसैसाताको अन्त्यमा न्युजिल्यान्ड जाँदैछन् । त्यही कारण उनले पाकिस्तानविरुद्ध अगस्त १३ र अगस्त २१ मा हुने दुई टेस्ट खेल्न पाउने छैनन्,’ इसिबीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेट बोर्ड स्टोक्सको परिवारसँगै सबै मिडियालाई अनुरोध गर्दछ कि यस समय उनी परिवारको अनुरोधलाई सम्मान गर्दै छन् ।’
स्टोक्सको परिवार अहिले पनि न्युजिल्यान्डै बस्दै आएको छ । २९ वर्षीय अलराउन्डर स्टोक्सको जन्म पनि न्युजिल्यान्डको क्राइस्टचर्चमा भएको हो ।
वर्तमान समयका सबैभन्दा उत्कृष्ट अलराउन्डर स्टोक्स अहिले उत्कृष्ट फर्मममा छन् । उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा इंग्ल्यान्डले एकदिवसीय विश्वकप र एसेज सिरिज जितेको थियो ।