युभेन्टसको च्याम्पियन्स लिग यात्रा समाप्त!

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले फ्रान्सेली टोली लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २-२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो । पहिलो लेग १-० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको हो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसअघि खेलको आठौं मिनेटमा लियोनका मिडफिल्डर हुसेम औआरको प्रहारलाई गोलरक्षक वोज चिएक सेचेज्नीले बचाउँदै कर्नर बनाए । लगत्तै रोनाल्डोको प्रहार बाहिरीएपनि उनी अफसाइड ठहरिएका थिए । १९ औं मिनेटमा युभेन्टसले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । फेडेरिको बर्नार्डेस्कीले तीन डिफेन्स र गोलरक्षक समेतलाई छलाएर गोल गर्न नजिक पुगेको अवस्थामा मार्सेलोले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै सम्भावित गोल टारे । २० औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा क्रिस्टियानो रोनाल्डोको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा रोनाल्डोले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक वालमा लागेर फर्कियो । लगत्तै जुआन क्वाडराडोको क्रसमा हिगुआइनको हेडरलाई गोलरक्षक लोपेसले दोस्रो प्रयासमा बचाए । ४० औं मिनेटमा युभेन्टस खेल बराबरीमा ल्याउने अवसरबाट चुक्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहारलाई गोलरक्षक लोपेसले सानदार बचाउ गरेका थिए । लगत्तै मिरालेम प्यानिचले त्यस्तै स्थानबाट प्रहार गरेको फ्रिकिकमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com