एजेन्सी । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
घरेलु मैदान ईतिहाद स्टेडियममा शुक्रबार राति सिटीले सहज जित निकाल्यो । समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो ।
खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डिफेन्सले क्लियर गर्न नसकेको बलमा ग्याब्रियल जिससको पासमा स्टर्लिङले गोल गरेका थिए ।
२८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । रोड्रिग्वोको उपलब्ध गराएको पासमा उनले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।
तर दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । भारानको ब्याकपासमा गोलकिपरलाई बिट गर्दै जिससले सिटीलाई जिततर्फ अग्रसर गराएका थिए ।सिटीले स्पेनिस लिगको च्याम्पियन रियलको च्याम्पियन्स लिगको यात्रा प्रि–क्वार्टरफाईनलमै टुङ्गयाई दिएको छ ।
सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ । पेप ग्वार्डिओला तेस्रो सिजन सिटीको नेतृत्व गरेका छन् । उनी नेतृत्वको सिटीले दोस्रो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो भने क्लब युरोपा लिगको अन्तिम ८ मा पुगेको छ ।सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको छ । क्लब सन् २०१५–१६ पछि सेमिफाईनल समेत पुग्न सकेको छैन ।