रियल म्याड्रिडले ओडेगार्ड फिर्ता बोलाउने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले लोनमा रियल सोसीडाड पठाएका नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्डलाई अर्को सिजन सान्टियागो बर्नाबाउमै खेल्नेगरि फिर्ता बोलाउने भएको छ । गत सिजन दुई वर्षको लागि लोन सम्झौतामा सोसीडाड पुगेका ओडेगार्डले ला रियल टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा सोसीडाड कोपा डेल रेको फाइनलसम्म पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सोसीडाड र एथ्लेटिक बिल्बाओबीच हुनुपर्ने फाइनल खेल आयोजना हुन सकेको छैन । अब सिजनको अन्त्यसँगै रियल म्याड्रिडले ओडेगार्डलाई फिर्ता बोलाउने भएपछि उनी फाइनल खेल्ने वा नखेल्ने भन्ने टुंगो लागेको छैन । रियलका प्रशिक्षक जिनेदिन जिदानले ओडेगार्डलाई आफ्नो टोलीमा समेट्ने सम्भावना प्रबल छ । यसअघि रियलको सिनियर टोलीमा खेल्नुअघि उनलाई ला लिगाको अनुभव बटुल्न लोनमा पठाइएको थियो । त्यसअघि डच लिगमा पनि ओडेगार्डले प्रभावशाली प्रदर्शन गरेका थिए । ओडेगार्डको आगमन हुने पक्का भएसँगै पछिल्लो समय इस्को र टोनी क्रुस युभेन्टस जाने चर्चाले पनि थप बल पाएको छ । इटालियन संचारमाध्यम स्पोर्ट्समिडियासेटका अनुसार रियल म्याड्रिडले युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाका लागि मिडफिल्डरद्वय टोनी क्रुस र इस्को सहितको प्रस्ताव ल्याउने तयारी गरेको छ । युभेन्टससँग नयाँ सम्झौताका लागि छलफलमा रहेका डिबालाले यसअघि नै क्लब छाड्ने मनासय बनाएका थिए । रोनाल्डोको आगमनपछि प्रशिक्षकको छनोटमा दोस्रो रोजाईमा रहेका उनले अन्यत्र भविष्य खोजेका हुन् । जिदानको रोजाइमा पर्न संघर्षरत इस्को र सम्झौताको अन्त्यतिर रहेको क्रुसलाई रियलले युभेन्टस पठाएर केहि रकम थप्नेछ । मिरालेम प्यानिच बार्सिलोना गएपछि मिडफिल्डमा केहि समस्या हुने देखिएकाले रियल युभेन्टसलाई उपयुक्त खेलाडी दिन चाहन्छ । रियल भने आक्रमणमा केहि कमजोर रहेकाले डिबालालाई भित्र्याउन चाहन्छ । ओडेगार्डको आगमनले मिडफिल्डमा पनि दिर्घकालिन रुपमा समस्या समाधान हुने देखिन्छ ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com